प्रतिनिधिसभाको भोलिको बैठकमा अमेरिकी अनुदान सहयोग एमसिसी सम्झौता टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्नेलगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक भोलि शुक्रबार पुनः बस्ने भएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज साँझ बसेको बैठक निष्र्कषमा नटुङ्गिएकाले पुनः छलफल गर्न भोलि बिहान १० बजे बस्ने गरी आजको बैठक समाप्त भएको हो ।
आजको बैठकमा प्रतिनिधिसभाको बैठक बिनाव्यवधान सञ्चालन गर्ने तथा एमसिसी सम्झौता टेबल गर्नेबारेमा घनीभूत छलफल भएको र त्यो सकारात्मक रहेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिए ।
“सत्ता साझेदार दलबीचको छलफल जारी रहेकाले भोलि बिहान १० बजे हुने बैठकले निर्णय गर्नेगरी आजको बैठक समाप्त भएको छ”, मन्त्री कार्कीले भने।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी प्रधान कार्यालयले यही फागुन १६ गतेभित्र सम्झौता अनुमोदनका निम्ति गरेको आग्रहलाई समयमै पूरा गर्न नेतृत्वपङ्क्तिलाई अनुरोध गर्नुभएको मन्त्री कार्कीले जानकारी दिए।