राष्ट्रिय जनगणना–२०७८ बिहीबारबाट सुरु गरिएको छ । जनगणनाको पहिलो दिन राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीको विवरण सङ्कलन गरेर जनगणना शुभारम्भ गरिएको छ ।
पहिलो दिन बिहीबार बिनाअवरोध देशैभर जनगणना गरिएको छ । केही स्थानीय तहमा चिसो मौसमका कारण केही ढिलो गरी जनगणाना सुरु गरिए पनि देशैभर जनगणना प्रारम्भ गरिएको छ । सुरुकै दिन करिब १५ लाख व्यक्तिको गणना गरिएको जानकारी केन्द्रीय तथ्याङ्क विभागले दिएको छ ।
विभागका महानिर्देशक नेविनलाल श्रेष्ठसहितको टोलीले राष्ट्रपति, प्रधानमन्त्री र उपराष्ट्रपति कार्यालयमा पुगेर जनगणनाको विवरण सङ्कलन गरेका थिए । विभागका निर्देशक ढुण्डीराज लामिछानेले प्रधानमन्त्रीको जनगणना गरेर आम जनतामा सकारात्मक सन्देश प्रवाह गरिएको सञ्चारकर्मीलाई बताए ।
राष्ट्रिय जनगणनाजस्तो महान् अभियानमा राष्ट्रपति र प्रधानमन्त्रीको पनि जनगणना हुन्छ र अभियानमा आम जनसहभागिता होस् भन्ने साङ्केतिक रूपमा सन्देश दिन तथ्याङ्क लिइएको हो । जनगणना लिएको सबै तथ्याङ्क गोप्य राखिनेछ ।