काठमाडौँ, ६ फागुन – नेपाल तरुण दलले सरकारले आफ्ना कार्यकर्ता लगाएर गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको व्यङग्यत्मक गीत बन्द गराएको आरोप लगाएको छ।
सोमबार तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले विज्ञप्ति जारी गर्दै गायक शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ बन्द गराएर सरकारले जनताको बोल्न पाउने, विचार राख्न पाउने, रचना र सिर्जना गर्न पाउने अभिव्यक्ति स्वतन्त्रताको हनन् गरेको आरोप लगाएका छन्।
नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले ओली सरकारले जनताको नैसर्गिक अधिकारमाथि प्रहार गरेको विज्ञप्तिमा उल्लेख गरेको छ। विज्ञप्तिमा लेखिएको छ, ‘गीत, संगित र जनताको आवाज रोक्ने अधिनायकवादी ओली सरकार नालायक र लुटेरा प्रमाणित भएको छ । सरकारको आदेशमा कम्युनिष्ट कार्यकर्ताले मण्डले प्रवृत्ति देखाउनु गलत हो । नेपालमा पशुपतिलाई जसले अपमान गर्छ, उ आफैं सकिएको इतिहास छ।’
तरुण दलले नागरिकले भाग्नु परेको परिस्थितिलाई शब्दमा उतारेर गाएको उक्त गीतमा पूर्ण समर्थन रहेको जनाएको छ । साथै, तरुण दलले शर्मालाई सम्मान गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ।
साथै लोकतन्त्रमा आलोचना स्वीकार गर्न सक्नुपर्ने भन्दै आफूहरुले उक्त गीतलाई सकारात्मक रुपमा लिएको र गायक शर्मालाई सम्मान गर्ने जानकारी दिएको छ।