इटहरी - नेपाल प्रेस युनियन सुनसरीले हालै सरकारले संसदमा दर्ता गराएको नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयकको सांकेतिक विरोध जनाएको छ। युनियनको आह्वानमा पत्रकारहरूले उक्त विधेयकको एक खुट्टाले उभिएर र मुखमा कालो पट्टी बाँधेर सांकेतिक विरोध जनाएका हुन्।
पत्रकारहरूले कालो ब्यानरसहित इटहरीको मुख्य चोकमा पुगेर विरोध प्रदर्शनी गरेको प्रेस युनियन सुनसरीका अध्यक्ष धनबहादुर पुरीले जानकारी दिए। अध्यक्ष पुरीले सरकारले संविधानविपरीत विधेयक ल्याएर आफूहरूलाई कमजोर बनाउन खोजेको भन्दै विरोधको कार्यक्रम गर्नुपरेको बताए।
प्रतिपक्षी दलका नेताद्वारा विधेयकको विरोध
पूर्वी नेपालमा उक्त विधेयकको चौतर्फी विरोध हुने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय नेताले समेत विरोध गरेका हुन्। नेपाली कांग्रेसको जागरण अभियानअन्तर्गत पूर्वी नेपाल आइपुगेका प्रभावशाली नेता रामशरण महतले अहिलेको सरकारले प्रेस स्वतन्त्रतालाई अंकुस लगाउन संसदमा दर्ता गराएको उक्त विधेयक संविधानविपरीत भएको आरोप लगाए।
नेता महतले भने, ‘स्वतन्त्र प्रेस प्रजातन्त्रको अभिन्न अंग हो। प्रेस स्वतन्त्रताका लागि नेपाली कांग्रेस जस्तोसुकै लडाइँ लड्न पनि तयार छ। अहिले पत्रकारहरूले विधेयक फिर्ताका लागि आवाज उठाइरहेका छन्, त्यसमा मेरो र नेपाली कांग्रेस पार्टीको समेत समर्थन छ।’
नेपाल प्रेस युनियन सुनसरीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै कांग्रेस नेताहरू रामकृष्ण यादव र रामहरि खतिवडाले समेत संसदमा उक्त विधेयक संविधानविपरीत भएको बताए।
यसैगरी, सरकारले संसदमा दर्ता गराएको उक्त विधेयकलाई फिर्ता गर्न दबाब दिँदै नेपाल पत्रकार महासंघ सुनसरीको आह्वानमा सुनसरीका पत्रकारहरूले हातमा कालो पट्टी बाँधेर विरोध जनाए।