एजेन्सी– अमेरीकाको सियाटल सहरमा रहेको फेसबुकको कार्यलयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस देखिएको छ। यो सँगै फेसबुकले उक्त कार्यलयमा कार्यरत अन्य कर्मचारीहरुलाई पनि घरबाटै काम गर्न निर्देशन दिएको छ। फेसबुकका प्रवक्ता एन्थोनी ह्यारिसनका अनुसार सियाटलमा रहेको कार्यलयमा काम गर्ने ठेकेदारमा कोरोना संक्रमण प्रमाणित भएको हो।
जसकारण उक्त कार्यलय यही ९ मार्चसम्म बन्द गरिएको छ भने त्यहाँ कार्यरत अन्य कर्मचारीलाई स्वास्थ्य परिक्षण पश्चात घरमै बसेर काम गर्ने सुविधा दिइएको छ। यसअघि बुधबारमात्रै अमेजनमा कार्यरत एक कर्मचारीलाई कोरोना भाइरस लागेको प्रमाणित भएको थियो।
चीनबाट शुरु भएको कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण विश्वभरका विभिन्न राष्ट्रहरूमा देखिन थालेको छ। पछिल्लाे समय विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले सार्वजनिक गरेकाे एक रिपाेर्टअनुसार काेराेनाबाट हालसम्म विश्वभरिमा ३ हजार २ सय ८६ जनाको मृत्यु भइसकेको छ। भने ९५ हजार ४ सय ८८ मानिस संक्रमित भएका छन्।