काठमाडौं– स्मार्टफोन निर्माता कम्पनी सामसङकाे ग्यालेक्सी एस ट्वान्टी सिरिजको स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएकाे छ। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सामसङ नेपालले ग्यालेक्सी एस ट्वान्टी र ग्यालेक्सी एस ट्वान्टी प्लस सार्वजनिक गरेको हो।
कम्पनीले ग्यालेक्सी एस २० र एस २० प्लस नेपाली बजारमा लन्च गरेसँगै प्री अर्डर पनि खुल्ला गरेको छ। यही फागुन ३० गतेदेखि सो स्मार्टफोन नेपाली बजारमा उपलब्ध हुनेछ भने प्रि–अर्डर गर्ने उपभोक्ताहरुले सो मिति भन्दा अगाडि नै पाउने कम्पनीले जनाएकाे छ।
कम्पनीको नयाँ स्मार्टफोन ग्यालेक्सी एस २० ग्यालेक्सी एस १० प्लसको अपग्रेड भर्जन हो भने ग्यालेक्सी एस २० प्लस सिधा रुपमा ग्यालेक्सी एस २० काे अपग्रेड भर्जन हो।
फोटोग्राफी र भिडियोग्राफी लागि एकदमै महत्वपुर्ण हुने किसिमले प्रस्तुत गरिएको ग्यालेक्सी एस २० सीरिजमा प्रयोग गरिएको क्यामेरा विश्वको पहिलो आविष्कार हो, जसले उच्चस्तरीय फोटो तथा भिडियो खिच्न सकिने बताइएको छ।
कम्पनीले ग्यालेक्सी एस २० सीरिजमा ६४ मेगापिक्सेलको क्यामरा र सेन्सर दिएकाे छ भने दुबै फोनमा ३० एक्ससम्मको जुम सिस्टम रहेको छ। ग्यालेक्सी एस ट्वान्टी एकमात्र यस्तो स्मार्टफोन हो जसबाट ८के भिडियो रेकडिङ गर्न सकिन्छ। याे सँगै ग्यालेक्सी एस २० सीरिजकाे स्मार्टफोन ८के भिडियो रेकडिङ्ग सकिने संसारको एकमात्र स्मार्ट फोन बनेकाे छ। साथै यसमा रहेको सिंगल टेकले एकसाथ रियर क्यामरामा रहेकाे सबै लेन्सहरुको प्रयोग गर्दछ।
ग्यालेक्सी एस २० एन्ड्रोएड १० मा आधारित वान यूआई२.१ अपरेडिंग सिस्टममा संचालन हुन्छ। जसमा ८ जीबीको र्याम र १२८ जीबी स्टोरेज रहेको छ। २५ वाट फास्ट चार्जिंग सिस्टम रहेको यो स्मार्टफोनमा ४००० एमएएच पावरको ब्याट्री रहेको छ।
यसमा क्युएचजेड (१,४४०×३,२०० पिक्सल) रेज्योलुशन, १२०एचजेड रिफ्रेश रेट र ५६३पीपिआई सँगै ६.२ इन्चको इनफिनिटी–ओ डाइनामिक एमोलेड २× डिस्प्ले रहेकाे छ। याे स्मार्टफाेनमा इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर र फेस रिकोग्निशन जस्ता सेक्योरिटी सिस्टम समावेश गरेकाे छ।
याे स्मार्टफाेन ट्रिपल रियर क्यामरा सेटअप (सुपर स्पीड डुअल पिक्सल एएफ र ओआईएस सँगै १२ मेगापिक्सलको वाइड एंगल सेन्सर, १२ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल सेन्सर र पिडिएएफ र ओआईएस सँगै ६४ मेगापिक्सलको टेलीफोन क्यामरा) काे साथमा उलब्ध रहेकाे छ। सेल्फिको लागि यस फोनमा १० मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएकाे छ।
यसैगरि ग्यालेक्सी एस २० प्लस को विशेषताहरु धेरै हदसम्म ग्यालेक्सी एस २० सँग मिल्दोजुल्दो रहेको छ। तरपनि यो स्मार्टफोनमा ब्याट्री र यसको साइज तथा डिस्प्लेमा केहि फरक रहेको छ।
ग्यालेक्सी एस २० प्लसमा ५२५पिपिआई सँगै ६.७ एजको क्युएचडि (१,४४०× ३,२०० पिक्सल) डाइनामिक एमोलेड २× डिस्प्ले रहेकाे छ। ४,५००एमएएच पावरको ब्याट्री रहेकाे याे स्मार्टफाेनमा ग्यालेक्सी एस२० को जस्तै फ्रन्ट र रियर क्यामरा रहेकाे छ।
ग्यालेक्सी एस २० कस्मिक ग्रे र क्लाउड ब्लु गरी दुईवटा कलरमा उपलब्ध रहेकाे छ। जसकाे बजार मूल्य १ लाख ७ हजार ४ सय ९९ रुपैयाँ ताेकेकाे छ। त्यस्तै ग्यालेक्सी एस २० प्लस थप क्लाउड ब्लु सिहत तीन कलरमा उपलब्ध रहेको छ र यसकाे बजार मूल्य १ लाख १९ हजार ४ सय ९९ रुपैयाँ रहेको छ।