सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय र महासचिव विष्णु पौडेलबीच छलफल भएको छ। दिउँसो १ बजेका लागि तय भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएपछि प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव पौडेल छलफलमा बसेका हुन्। करिब १ बजे मात्र ओली र प्रचण्डबीच छलफल भएको थियो।
मंसिर २१ गते देखि सुरु भएको स्थायी कमिटीको बैठकमा पार्टीका दुई अध्यक्षहरुको पार्टी सचिवालय बैठकमा पेश गरेको प्रस्ताव माथि छलफल हुने बताइए पनि ठोस रुपमा छलफलमा प्रवेश पाइसकेको छैन।
आज बस्ने बैठकमा सरकारले मंगलवार जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश माथि छलफल हुने बताइएको थियो। प्रचण्ड–नेपाल पक्षले सरकारले जारी गरेको अध्यादेशलाई असंवैधानिक भन्दै खारेजीको माग गरेका छन्।
यसैबिच स्थायी कमिटी सदस्यहरु भीम रावल, पम्फा भुसाल सहितको नेकपाका सांसदहरु संसद अधिवेशनको माग गर्दै राष्ट्रपति निवास पुगेका छन्।