काठमाडौं २६ माघ – नेकपा कार्यदलले पार्टी एकता प्रस्ताव तयार पार्न नेतृत्वसँग एक साता समय मागेको तर त्यसको बारेमा नेतृत्व कुनै जानकारी नदिएको कार्यदल सदस्य सुरेन्द्र पाण्डेले बताए।
उनले भने,‘अहिलेसम्म हामीलाई कुनै पनि जानकारी आएको छैन्, कार्यदल संयोजक बादल हो, बादल जीलाई केही भन्नु भएको छ भने त्यो कुरा हामीलाई थाह छैन्।’ कार्यदलले समयमा बुझाउन नसकेको भन्दै सचिवालय बैठकले मौजुदा अवस्थाकै प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । कार्यदल नै भंग गर्ने उद्देश्यसहित सचिवालयले यस्तो निर्णय गरेको भन्दै सदस्यहरुले थप एक साताको समय मागेका हुन् ।
कार्यदलले अहिलेसम्म विधानको विवादमात्र मिलाएको छ । विधानमा स्थायी कमिटी बैठक प्रत्येक दुई महिनामा गर्ने, राजधानीमा पनि एउटा छुट्टै प्रदेशस्तरीय कमिटी बनाउने सहमति जुटेको छ । यसबाहेक सबै विवाद ज्युँका त्युँ छन् ।