काठमाडौँ, २५ माघ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका क्रियाकलापमाथि गम्भीर प्रश्न उठाएका छन्। शुक्रबार राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले केपी शर्मा ओलीलाई ईंगित गर्दै माओवादीलाई सिध्याइहालियो, अब जे गरे पनि हुन्छ भन्ने नठान्न चेतावनी दिएका छन्।
‘स्थानीय तह सञ्चालन ऐनः न्यायिक समिति, कार्यविधि र प्रक्रिया’ नामक पुस्तकको विमोचन गर्दै उनले भने, ‘संविधान कार्यान्वयनको प्रक्रिया हेर्दा स्थानीय र प्रादेशिक तहलाई संविधानले जुन मर्मकासाथ व्यवस्था गरेको छ, त्यसअनुसार कार्यान्वयन हुन थालेको छ त ? विस्तारै कमजोर त पारिँदै छैन?’
शान्ति सुरक्षा, बजेटलगायतका विषयमा सरकार संविधानको भावनाअनुसार नचलेको आरोप लगाउदै उनले भने, ‘सिंहदरबारबाट अधिकार प्रत्यायोजन गर्ने, कर्मचारी समायोजन गर्नेतिर ठीक ढंगले अगाडि बढेका छौं ? फेजआउट गर्नेतिर त गइरहेका छैनौं ?’ सोच्नुपर्ने अवस्था आईसकेको छ।’
प्रचण्डले भने, ‘माओवादीलाई सिध्याइहालियो भन्ने ठानियो भने दुर्भाग्यपूर्ण हुन्छ । अर्को माओवादी जन्मिन्छ, झन ठूलो लडाइँ हुने खतरा आउँछ।’ प्रचण्डले शान्ति सम्झौताको मर्म विपरीत पुराना मुद्दाहरुलाई पुलिस कहाँ पठाउने र पक्राउ गर्न थालिएको भन्दै असन्तुष्टि व्यक्त गरे।
उनले भने, ‘हामीले शान्ति सम्झौतामा जे प्रतिज्ञा गर्यौं र संविधान बनाउँदा जे जति अधिकार प्रत्यायोजन गर्ने कुरा गर्याैं, त्यसलाई इमान्दारिताका साथ लागु गरेनौं भने हामीले नचाहँदै नचाहँदै द्वन्द्व हुन्छ।’
तस्वीरः मुकुन्द कालिकाेटे