काठमाडौं, २४ माघ – भारतका लागि नवनियुक्त नेपाली राजदूत निलाम्बर आचार्यले आफ्नो कार्यकालमा नेपाल–भारतबीचको कुटनीतिक सम्बन्ध, व्यापारबृद्धि, सीमाना विवाद न्यूनिकरण र निर्यातबृद्धि जस्ता विषयमा केन्द्रित हुने बताएका छन्।
राष्ट्रपतिबाट माघ २० गते आइतबार पद तथा गोपनीयताको सपथग्रहण गरेका राजदूत आचार्यले जिम्मेवारी सम्हाल्न जानुअघि नेपाली नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।
२०७४ असोजदेखि नेतृत्वविहीन दिल्लीस्थित नेपाली दूताबास राजनीति र कुटनीतिमा अनुभवी मानिएका आचार्यको कार्यकाल अर्थपूर्ण रहने विश्वास लिइएको छ।
मुलुकको समृद्धिका लागि निर्यात व्यापारबृद्धि आवश्यक रहेको बताउँदै आचार्यले आफ्नो कार्यकालमा भारत र नेपालबीचको कुटनीतिक सम्बन्ध, व्यापार लगायतका विषयलाई प्राथमिकता राखेर काम गर्ने प्रतिवद्धता जनाएका छन्।
नवनियुक्त राजदूत आचार्यले कार्यक्रममा उपस्थित उद्योगी एवं व्यवसायीहरुलाई विश्वास दिलाउँदै आर्थिक कुटनीतिको माध्यमबाट मुलुकमा लगानी भित्र्याउन आवश्यक पहल गर्ने प्रष्ट पारे।
उनले कृषि, पर्यटन, जडिबुटी र जलविद्युत क्षेत्रमा भारतीय लगानी बढाउन विशेष पहल गर्ने बताए।
राजदूत आचार्यलाई फर्केर हेर्दा...
निलाम्बर आचार्यको जन्म वि.सं. २००० सालमा सल्यान जिल्लाको खलंगामा भएको हो। उनले कानूनमा स्नातक (बीएल) र मस्कोबाट पत्रकारितामा स्नातकोत्तर गरेका छन्।
विद्यार्थी छँदै २०१९ मा राजनीतिमा लागेका आचार्यले २०४२ बाट कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए। उनी वाममोर्चाका तर्फबाट २०४७ सालको कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा कानून तथा न्याय मन्त्री बनेका थिए। उनी २०४८ सालमा कम्युनिष्ट त्यागेर नेपाली कांग्रेसमा प्रवेश गरे।
वि.सं. २०५३ सालमा उनलाई श्रीलंकाको राजदूत बनाइयो। उनको उक्त कार्यकाल २०५६ सम्म रह्यो। उनी कांग्रेसको मनोनित कोटाबाट संविधानसभा सदस्य बनाइएका थिए। आचार्य २०६६ मा संविधानसभाको संवैधानिक समितिको सभापति पनि बने।
कम्युनिष्ट पार्टीको सदस्यता त्यागेको २७ वर्षपछि आचार्यलाई केपी शर्मा ओली नेतृत्वको दुईतिहाइ सरकारले दिल्ली दूताबासको महत्वपूर्ण जिम्मेवारी सुम्पिएको छ।
विश्वमा साम्यवाद पतन भयो भनेर कम्युनिष्ट पार्टी छोडेका आचार्यलाई दुईतिहाइ बहुमतप्राप्त नेकपाको सरकारले भारतको लागि राजदूत सिफारिस गरेपछि राजनीतिक तथा कुटनीतिक वृत्तमा नयाँ आशा सञ्चार भएको छ।
वि.सं. २०४८ सालमा कांग्रेसको बहुमतको सरकार बनेपछि आचार्यले सोही सालको फागुनमा कम्युनिष्ट पार्टीको सदस्यता त्यागेका थिए।
उनी कांग्रेसको सरकारका पालामा श्रीलंकाको राजदूत नियुक्त भएका थिए। आचार्य राजदूत भएको समयमा नेपाल–श्रीलंकाबीचको सम्बन्धमा माधुर्यता र नयाँ आयाम थपिएको कुटनीतिक वृतमा अहिले पनि चर्चा गरिन्छ।
परिपक्व र बौद्धिक व्यक्तित्वका रुपमा परिचित आचार्यको भारतीय राजदूतमा नियुक्तिले नेपाल–भारतबीचको सम्बन्ध थप उचाईमा पुग्ने विश्वास लिइएको छ।
साथै नेपालबाट भारतमा निर्यात हुने वस्तुहरुको निर्वाध र सहज तरिकाले बृद्धि हुने नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ बताउँछन्।