काठमाडौं, २४ माघ – भेनेजुएला प्रकरणका बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच वाकयुद्ध सुरु भएको छ।
प्रधानमन्त्री ओलीले ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा प्रचण्डको वक्तव्य चिप्लिएको बताएपछि जुहारी सुरु भएको हो। चिवतन पुगेका प्रचण्डले पत्रकारसँगको कुराकानीमा ओलीको अभिव्यक्तिलाई लिएर ‘काउण्टर’ जवाफ दिएका छन्।
प्रचण्डले भने, ‘प्रधानमन्त्रीजीले कुन सन्दर्भमा कसरी भन्नुभयो मैले हेरेको छैन। तर, प्रधानमन्त्रीजीसहित बसेको सचिवालय बैठकले त्यही स्पिरिटमा वक्तव्य जारी गरिसकेपछि व्यक्तिले कसले के भन्छ? त्यसले अर्थ राख्दैन।’
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली विदेश भ्रमणका क्रममा लाओस रहेका बेला प्रचण्डले भेनेजुएलामाथि अमेरिकी हस्तक्षेप जायज नभएको टिप्पणी गर्दै वक्तव्य दिएका थिए।