काठमाडौँ, २३ माघ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता एवम् कार्यदल सदस्य योगेश भट्टराईले कार्यदलको अवस्था दिशाविहीन र बेहाल भएको टिप्पणी गरेका छन्। नेपाली पब्लिकसँगको कुराकानीमा उनले भने, ‘गत पुस १२ गते बसेको स्थायी कमिटी बैठकले चयन गरेको यो कार्यदलको एक सदस्य म पनि हुँ, यस कार्यदलका बारेमा म नै बेखबर छु।’
किन यसरी बेखबर बन्नुभयो नि? भनेर सोधिएको प्रश्नको जवाफमा नेता भट्टराईले भने, ‘माग ६ गतेपछि कार्यदलको बैठक नै बसेको छैन्, नेतृत्वले प्रतिवेदन बुझाउन निर्देशन दिएको छ, तर कार्यदलको बैठक नै नबसेपछि काम हुने कुरै भएन, कार्यदलको अवस्था ठीक छैन, कसरी राम्रो हुन्छ? बेखबरजस्तै भएन र ?’
तीन गुटको गोल चक्करमा नेकपा
२०७४ असोज १७ गते संघीय राजधानी काठमाडौँको सभागृहबाट एकताको उद्घोष गरेको नेकपामा आजको दिनसम्म पुग्दा नेतृत्वबाहेक अन्य कमिटीबीचको एकता हुन सकेको छैन।
गत पुस १२ गते बसेको स्थायी कमिटीको बैठकले सचिवालय सदस्य रामबहादुर थापा, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरू वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, लेखराज भट्ट, रघुवीर महासेठ र शङ्कर पोखरेल सम्मिलित कार्यदललाई पुस मसान्तभित्र एकता टुङ्गो लगाउन जिम्मेवारी दिइएको थियो।
त्यो अवधि सकिएपछि अस्ति सोमबारको सचिवालय बैठकले हिजो मङ्गलबारसम्मको अवधि दिएको थियो। कार्यदलका केही सदस्य केन्द्र सरकारका मन्त्री तथा केही सदस्य प्रदेशका मुख्यमन्त्री रहेकाले एकताका बारेमा काम गर्न सहज नभएको कार्यदलका सदस्य भट्टराईले जानकारी दिए।
महासचिव विष्णु पौडेल, रघुवीर महासेठ र शङ्कर पोखरेल ओली गुटका नेता मानिन्छन्। त्यस्तै नेताहरू रामबहादुर थापा ‘बादल’, वर्षमान पुन र लेखराज भट्ट प्रचण्ड गुटका नेता हुन्। योगेश भट्टराई, सुरेन्द्र पाण्डे र वेदुराम भुसाल माधवकुमार नेपाल गुटका नेता हुन्। अङ्कगणितीय जोडबलले बनेको कार्यदल गुटबन्दीको शिकार बनेपछि एकता प्रक्रियामा अझ ढिलाइ थपिएको हो।
कार्यदलका कतिपय सदस्य काठमाडौँ उपत्यकाबाहिर रहेको र कार्यसूचीमा मतभिन्नता कायमै रहेकाले प्रतिवेदन बुझाउन कार्यदल असफल बनेको छ। नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शार्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता नेपालको व्यक्तिगत र गुटगत स्वार्थमा पार्टी एकता अड्किएको नेकपाका केही नेताहरूको आरोप छ।
सत्तारूढ नेकपाको सचिवालयबाहेक पार्टी प्रणाली निष्क्रिय छ। पूर्वएमाले र माओवादी केन्द्रबीच एकता हुँदा माक्र्सवाद लेनिनवादको मार्गदर्शक सिद्धान्त अंगीकार गर्ने भनिए पनि हाल आएर मत बाझिएको छ। एमालेले जनताको बहुदलीय जनवाद र माओवादीले २१औँ शताब्दीको जनवादलाई स्थापित गर्न लागिपरेको स्पष्ट देखिन्छ। पार्टीको कार्यनीति, रणनीति, विचार, संगठनका मापदण्ड र परराष्ट्र नीतिमा पनि कार्यदलका सदस्यहरू एकमत छैनन्।
गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र एनेकपा (माओवादी केन्द्र) बीच एकता हुँदा ६ महिनाभित्र तल्ला कमिटीको एकता गरिसक्ने घोषणा गरिएकोमा यसबीच नेताहरूको व्यस्तता, विवाद, कहिले दुई अध्यक्षहरू ओली र प्रचण्ड वा कहिले सचिवालय, स्थायी कमिटी वा कार्यदल हुँदै एकताबारे टुङ्गो लगाउन पटकपटक जिम्मेवारी दिई काम थालिए पनि अन्तिम रूप पाउन भने सकेको छैन।
नेकपाले सरकार, संसद् र स्थानीय तहको मुख्य जिम्मेवारीमा रहेका नेता–कार्यकर्तालाई कुनै पनि स्तरको पार्टी कमिटीको कार्यकारी पदमा नराख्ने नीति गत साउन २३ गतेको सचिवालय बैठकले तय गरको थियो। त्यसको उलङ्घन गरिएको असन्तुष्ट नेताहरूको भनाइ छ।
नेकपाले सांगठनिक एकीकरण सहज बनाउन सङ्घीय र प्रदेश सरकारका मन्त्री, प्रादेशिक संसदीय दलका नेता र उपनेता, सङ्घीय संसद् र प्रदेशसभाका प्रमुख सचेतक, सचेतक, संसदीय समितिका सभापतिहरू, जिल्ला समन्वय समितिका संयोजक-संयोजक तथा स्थानीय तहका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्षलाई पार्टीको कुनै पनि स्तरको कार्यकारी पद (अध्यक्ष र सचिव) पदको जिम्मेवारी नदिने निर्णय गरेको थियो।
विगतका निर्णयलाई उल्ट्याइएको भन्दै नेकपाको असन्तुष्ट पक्षले नेतृत्वको कार्यशैली ठीक नभएको बताउँदै आएको छ। संगठन, सिद्धान्त, कार्यदिशा र लक्ष्यप्रति अस्पष्टता हुँदा कार्यकर्ताहरूमा निराशा छाएको छ। पार्टीको सिद्धान्त समाजवाद भए पनि व्यवहार नातावाद र आफन्तवादमा परिणत भएको भन्दै स्थायी कमिटी सदस्य घनश्याम भुसाल र राम कार्कीले नेतृत्वलाई सच्चिन आग्रह गर्दै आएका छन्।
संगठन र तल्लो तहका नेताहरू कामविहीन बन्दा विभिन्न पेशामा लागेका छन्। कोही ठेक्कापट्टा, सरुवा–बढुवा र आर्थिक उपार्जनको बाटोमा केन्द्रित भएको देखिन्छ। नेकपाको नेतृत्वमा मिलन देखिए पनि स्थानीय स्तरमा दुवै पार्टीका कार्यकर्ताबीच हार्दिकता देखिँदैन।
जन वर्गीय संगठन, शुभेच्छुक संस्था र भ्रातृ संगठनको एकीकरणमा जति विलम्ब हुन्छ त्यतिनै अविलम्ब नेकपालाई असर देखापर्ने निश्चित छ। पछिल्ला समाचार अनुसार नेकपा केही कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी र केही कार्यकर्ता नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेको पढ्न पाईन्छ।
पार्टीले आत्मसाथ गर्ने विचार, एकता प्रक्रियाका मापदण्ड, कार्यकर्ताको भावना बुझ्न सकेन भने नेकपाको नेतृत्वले वर्तमान समयमा विश्वास गुमाउँदै जाने र भोलिका दिनमा नेतृत्वमा पुग्ने नेताहरुलाई पनि दीर्घकालिन असर पर्ने उत्तिकै सम्भावना हुन्छ।