बुटवल, २३ माघ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मङ्गलबार प्रदेश ५ को प्रदेशसभा संसद् अवरुद्ध गरेपछि बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको छ। स्थगित बैठक भोलि (बिहीबार) बस्नेछ।
प्रदेशको स्थायी राजधानी र नामकरणका लागि सुझाव सङ्कलन गर्न गठन भएको विशेष समितिले काम नगरेको भन्दै कांग्रेसले मङ्गलबारको बैठक अवरुद्ध गरेको हो।
दीपेन्द्रकुमार पुनलाई ३ महिना अगाडि नै समितिका संयोजकमा नियुक्त गरिएको थियो। तर, समितिले स्थायी राजधानी र नामकरणका लागि सुझाव सङ्कलन नगरी पदावधिमात्र लम्ब्याउन खोजेपछि बैठक अवरुद्ध गरिएको कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले जानकारी दिए।
सुझाव सङ्कलन गर्न गठित १५ सदस्यीय समितिमा सबै जिल्लाका सांसदहरूको प्रतिनिधित्व गराउने तयारी गरिएको छ। समितिमा रुकुम पूर्व, नवलपरासी र बाँके जिल्लाका प्रतिनिधि छैनन्।
राजधानी टुङ्गो लगाउने विषयलाई समितिमा सदस्य थपका नाममा लम्ब्याउन खोजिएकाले त्यसको विरोधमा पनि बैठक अवरुद्ध गरेको पोखरेलले बताए।
कांग्रेसले यसअघि माघ १८ गते पनि गोविन्द केसीको जीवनरक्षा र निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न माग गर्दै बैठक अवरुद्ध गरेको थियो।